५ जना विशेषज्ञ चिकित्सकसहित ३५ जनाको स्वास्थ्य टोलीद्वारा सेवा प्रदान, ५०० भन्दा बढी स्थानीय लाभान्वित : तेतरिया (ग्रामथान), मंसिर ५। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तेतरिया शाखा कार्यालयको आयोजनामा मोरङको ग्रामथान गाउँपालिका–५, तेतरिया स्थित श्रीदेवी माध्यमिक विद्यालयमा मंसिर ५ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। न्यूरो अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा स्थानीय बासिन्दालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो। शिविरमा ५ जना विशेषज्ञ चिकित्सकसहित ३५ जनाको प्राविधिक स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो। शिविरमा स्त्री तथा प्रसूति रोग (गाइनोकोलोजी), नाक, कान तथा घाँटी (ईएनटी), नशा तथा हाडजोर्नी, जनरल फिजिसियन र आँखा रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइएको थियो। उक्त शिविरबाट ५०० भन्दा बढी स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् भने ४०० भन्दा बढीले स्वास्थ्य परीक्षण सेवा लिएका थिए। स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा तथा निःशुल्क औषधि प्राप्त भएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गर्दै संस्थाप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा ग्रामथान गाउँपालिकाका अध्यक्ष श्री नमो नारायण माझीको उपस्थिति रहेको थियो। त्यसैगरी, संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत श्री ऋषी प्रसाद न्यौपाने, प्रदेश प्रमुख श्री शम्भु घिसिङ, तेतरिया शाखा प्रमुख श्री सुरेश माझी लगायत क्लस्टर तथा शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। शिविरस्थलमा सुरक्षाका लागि स्थानीय प्रहरी चौकीका सुरक्षाकर्मीसमेत परिचालन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री नमो नारायण माझीले संस्थाले स्थानीय स्तरमा स्वास्थ्य शिविर आयोजना गरी समुदायलाई प्रत्यक्ष लाभ पुर्याएको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। त्यसैगरी, संस्थाका सहायक प्रमुख कार्यकारी अधिकृत श्री ऋषी प्रसाद न्यौपानेले संस्थाले प्रदान गर्दै आएका वित्तीय तथा अन्य सेवाहरूका बारेमा जानकारी गराउँदै वित्तीय सेवासँगै समुदायको स्वास्थ्य, सामाजिक विकास र जनजीवनको सहजतामा योगदान पुर्याउनु संस्थाको सामाजिक उत्तरदायित्वसमेत रहेको बताउनुभयो। शिविरबाट सेवा लिन आउनुभएका सम्पूर्ण स्थानीय बासिन्दाप्रति संस्थाले आभार व्यक्त गरेको छ। वित्तीय सेवाको पहुँच विस्तारसँगै समुदायको स्वास्थ्य अवस्था सुधार, सामाजिक उत्तरदायित्व निर्वाह तथा स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संस्थाले उक्त स्वास्थ्य शिविर आयोजना गरेको हो। आगामी दिनमा पनि समुदायको आवश्यकता र हितलाई मध्यनजर गर्दै यस्ता सामाजिक तथा जनकल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने संस्थाको अपेक्षा रहेको छ।